युरिक एसिडलाई नियन्त्रण गर्न यी फलफूल उपयुक्त
काठमाडौँ । युरिक एसिडको मात्रामा वृद्धि भएपछि जोर्नी दुख्ने, सुन्निने तथा अन्य समस्या देखिन सक्छ। शरीरमा प्युरिन नामक तत्वको विघटनबाट युरिक एसिड बनिन्छ, जुन असन्तुलित खानपान, अत्यधिक मदिरा सेवन तथा कम शारीरिक गतिविधिका कारण बढ्न सक्छ। यस्तो अवस्थामा खानपानमा विशेष ध्यान दिन आवश्यक हुन्छ।
विशेष गरी गर्मी मौसममा युरिक एसिडको नियन्त्रणका लागि यी फलफूल लाभदायक मानिन्छन्:
- ब्ल्याकबेरी: एन्टिअक्सिडेन्टले भरिपूर्ण ब्ल्याकबेरीले शरीरलाई डिटोक्सिफाइ गर्न मद्दत गर्छ। यसले मेटाबोलिजम बढाएर युरिक एसिडको मात्रा सन्तुलनमा राख्न मद्दत गर्दछ।
- चेरी: चेरी युरिक एसिड घटाउन सबभन्दा प्रभावकारी फल मानिन्छ। यसमा भिटामिन बी–६, भिटामिन ए, भिटामिन के, भिटामिन सी लगायतका पोषक तत्व पाइन्छन्, जसले शरीरलाई आवश्यक खनिज प्रदान गर्छ।
- केरा: केरामा प्युरिनको मात्रा कम हुन्छ, जसले गर्दा युरिक एसिड नियन्त्रण गर्न मद्दत गर्दछ। यसले गाउटको समस्याबाट बच्न सहयोग पुर्याउँछ र शरीरलाई ऊर्जा प्रदान गर्छ।
- किवी: रसिला तथा अमिलो फलहरूले युरिक एसिड बढाउन सक्छन्, तर किवी अपवाद हो। यसमा भिटामिन सी, भिटामिन ई, पोटासियम तथा फोलेट पाइन्छ, जसले शरीरलाई डिटोक्सिफाइ गर्दै युरिक एसिड नियन्त्रणमा राख्न मद्दत गर्छ।
- स्याउ: स्याउ फाइबरयुक्त फल हो, जसले पाचन प्रक्रियामा सुधार ल्याउँछ। यसले रक्तमा युरिक एसिड जम्मा हुनबाट रोक्छ र शरीरलाई ऊर्जा प्रदान गर्छ। चिकित्सकहरूले दैनिक स्याउ सेवन गर्न सिफारिस गर्छन्।
युरिक एसिडको समस्या भएका व्यक्तिले यी फलफूललाई आफ्नो खानपानमा समावेश गरेमा दीर्घकालीन रूपमा स्वास्थ्य लाभ प्राप्त गर्न सक्छन्।



प्रतिक्रिया दिनुहोस