भरतपुर अस्पतालमा मुटु र जलन उपचार सेवा सुरु, इनफर्टिलिटी क्लिनिकसहित आठ नयाँ सेवा सञ्चालनमा

पश्चिम खबर
२३ वैशाख २०८२, सोमबार

चितवन, २२ वैशाख — चितवनस्थित भरतपुर अस्पतालले मुटु रोग र जलन (बर्न) सम्बन्धी उपचार सेवा सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार क्याथ ल्याब र जलन वार्डको औपचारिक उद्घाटन गर्दै उक्त सेवाको सुरुवात गरेका हुन्।

उद्घाटन कार्यक्रममा मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले विशिष्ट उपचार सेवा सहज रूपमा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको जानकारी दिए। “अब नागरिकले हृदय रोगको उपचारका लागि काठमाडौँ धाउनुपर्ने छैन,” मन्त्री पौडेलले भने, “क्याथ ल्याबबाट मुटुसम्बन्धी समस्यामा सहज सेवा उपलब्ध हुनेछ।”

प्रदेशमै उच्चस्तरीय सेवा विस्तार

भरतपुर अस्पतालमा स्थापित क्याथ ल्याबले मुटुका बिरामीका लागि ‘एनजियोग्राफी’, ‘एनजियोप्लास्टी’जस्ता सेवा प्रदान गर्नेछ। अस्पताल प्रशासनका अनुसार यो सेवा नियमित रूपमा सञ्चालन हुनेछ र दक्ष चिकित्सक तथा प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा दिइनेछ।

त्यसैगरी, अस्पतालमा पहिलोपटक जलन (बर्न) वार्ड पनि सञ्चालनमा आएको छ। यसअघि जलनका गम्भीर बिरामीलाई उपचारका लागि काठमाडौंका केही सीमित अस्पतालमा पठाउनुपर्ने बाध्यता हटेको छ। भरतपुर तथा आसपासका जिल्लाका जनतालाई अब नजिकैबाट उपचार सेवा लिन सहज हुनेछ।

जलन उपचार निःशुल्क, विपन्नलाई राहत

मन्त्री पौडेलले जलन पीडित विशेषगरी विपन्न वर्गका लागि सेवा निःशुल्क बनाइएको घोषणा पनि गरे। यसअन्तर्गत पहिलो चरणमा भेरी अस्पतालमा आइतबारदेखि सेवा सुरु भइसकेको छ भने सोमबार भरतपुरमा पनि सेवा विस्तार गरिएको हो।

इनफर्टिलिटी क्लिनिकसहित आठ सेवा सुरु

भरतपुर अस्पतालले वैशाख महिनामा सुरु गर्ने तालिकाअनुसार कुल आठवटा नयाँ सेवा सुरु गरेको छ। ती सेवामध्ये सन्तानविहीन दम्पतीका लागि इनफर्टिलिटी क्लिनिक पनि प्रमुख सुविधा हो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलका अनुसार, बाँकी सेवाहरूमा विशेष परामर्श क्लिनिक, नियमित जाँच प्रणाली, तथा मातृ–शिशु केन्द्रित सेवा पनि समावेश छन्।


धेरै पढिएको