पानीट्यांकी युवा समाजद्धारा ‘राष्ट्रिय ट्रमा सेन्टर’ काठमांडौमा १५० बढी बिरामी र कुरुवाहरुलाई निःशूल्क भोजन प्रदान

पश्चिम खबर
२० भदौ २०८१, बुधबार

काठमाडौँको बौद्ध,महांकाल,पानीट्यांकी -६ स्थित “पानीट्याङ्की युवा समाज” ले तीज पर्वको अवसरमा दूरदराजबाट उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ आएका विपन्न बिरामी र बिरामीका कुरुवाहरूका लागि दर खुवाउने उद्देश्यले निःशूल्क भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ । पानीट्यांकी युवा समाजले भदौ १९ गते बुधबार बेलुका साँझ ६ बजेदेखि राती ८ बजेसम्म सो अस्पतालमा करिब १५० जनालाई निःशुल्क भोजन सेवा उपलब्ध गराएको थियो। पानीट्यांकी युवा समाजका अध्यक्ष उमेश सापकोटा सहित समाजका कार्यसमिति पदाधिकारी तथा सदस्य, सल्लाकार,साधारण सदस्यहरू गरी २० जना समाजसेविहरुको उपस्थितिमा यो सेवा उपलब्ध गराइएको थियो ।
चाडपर्वको बेला अस्पतालमा देशका विभन्न जिल्लाहरुबाट उपचार गराउन आउनु भएका बिरामी र वहाँहरूका कुरुवा आफन्तहरूलाई एकछाक भएपनि खानामा सहज होस र एकछाक खानाबाट बचेको पैसा बिरामीको औषधि उपचारमा खर्च होस् भन्ने उद्देश्यका साथ यो सेवा प्रदान गरिएको आयोजक पानीट्यांकी युवा समाजका अध्यक्ष सापकोटाले बताउनुभयो ।


उहाँले भन्नुभयो–‘महिलाहरूको ठूलो पर्व हरितालिका तीज पर्व आइसकेको छ । तरपनि देशका विभिन्न दूरदराजबाट विभिन्न कारणले उपचार गराउन बिरामी र उहाँका आफन्तहरू काठमाडौँ आउनुभएको छ । तीज पर्वको अवसर पारेर उहाँहरूलाई दर खुवाउने कार्यक्रम आयोजना गरेका हौं । चाडपर्वको बेलामा उहाँहरूलाई अलिकति भएपनि माया स्नेह व्यक्त गर्नका लागि हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ । विशेषगरी यो कार्यक्रम हामीले महिलाहरूका लागि गरेका हौँ । यद्यपि हामीले पुरुषहरुलाई पनि निःशुल्क भोजन सेवा उपलब्ध गराएका छौं । ट्रमा सेन्टर काठमाडौँ र बुढानिलकण्ठ नगरपालिका कपन स्थित सहानुभूति नेपाल आश्रममा गरी हामीले झण्डै १८० जनालाई यो सेवा उपलब्ध गराएका थियौँ।’

उनीहरूलाई दाल, भात, तरकारी, अचार, मासु, जेरी र दही खानेकुराको व्यवस्था गरिएको थियो । सो अवसरमा पानी ट्याङ्की युवा समाजका सल्लाहकार तथा कार्यसमितिका सदस्यहरू गरी २० जना समाजसेवीहरुको उपस्थिति रहेको थियो ।


सो क्रममा देशका विभिन्न भागबाट आएका बिरामी र बिरामीका कुरावाहरूले पानीट्याङ्की युवा समाजले निःशुल्क भोजन सेवा उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।
सो कार्यक्रमपछि समाजका अध्यक्ष सापकोटाले पानी ट्याङ्की युवा समाज सेवा नै परमो धर्म भन्ने भावनाका साथ अगाडि बढिरहेको बताउनुहुँदै युवा पिढीँहरूमा समाजमा परिवर्तनका लागि सेवाको भावना हुनुपर्ने र सोही अनुसार नै
पानीट्याङ्की युवा समाज अघि बढिरहेको जानकारी दिनुभयो । उहाँले युवा पुस्ताहरूलाई आफू जुनसुकै काममा संलग्न रहे पनि समाजका लागि पनि आफूले सक्ने योगदान दिन आग्रह गर्नुभयो ।
साथै उहाँले साँझको समयमा मानव सेवाका लागि भनेर ट्रमा सेन्टरसम्म सहयोगका लागि आउनुभएकोमा समाजका सल्लाहकार तथा सदस्यहरुलाई धन्यवाद दिनुभयो । साथै निःशुल्क भोजन सेवा उपलब्ध गराउनका लागि देश विदेशबाट आर्थिक सहयोग उपलब्ध गराउने विभिन्न व्यक्तित्वहरुलाई पनि धन्यवाद ज्ञापन गर्नुभयो ।
यस्तै समाजका सल्लाहकार रमेश शर्मा न्यौपानेले पानी ट्याङ्की समाजले यसरी विभिन्न खालका सामाजिक कार्यक्रम गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै खालका कार्यक्रमहरु अघि बढाउन आग्रह गर्नुभयो । यस्ता कामका लागि स्थानीय तथा प्रदेश सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।