काठमाडौँ महानगरको निर्देशन—विद्यार्थीलाई नेपालीमा बोल्न नरोक्नु
काठमाडौँ — काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई कक्षा शिक्षण बाहेकका सम्पूर्ण क्रियाकलापमा अङ्ग्रेजी भाषा अनिवार्य नगर्न कडा निर्देशन दिएको छ।
महानगरको शिक्षा विभागले सोमबार एक सूचना जारी गर्दै शिक्षणको माध्यम अङ्ग्रेजी भए पनि विद्यार्थीलाई विद्यालय परिसरमा नेपाली भाषामा बोल्न दिनुपर्ने स्पष्ट पारेको हो। केही अङ्ग्रेजी माध्यमका विद्यालयहरूले विद्यार्थीले नेपाली भाषा प्रयोग गरेबापत जरिवाना तिराउने, अनुशासनको कारबाही गर्ने, वा मानसिक दवाव दिने गरेको गुनासो महानगरमा पुगेपछि यस्तो निर्देशन जारी गरिएको हो।
‘भाषा त दबाब होइन, अभिव्यक्तिको अधिकार हो’
सूचनामा भनिएको छ, “यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा दण्ड वा जरिवाना गरेको गुनासोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ। शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयहरूबाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गर्नु र नेपाली भाषामा बोल्दा दण्डित गर्नु शिक्षा नीतिविपरीत छ।”
महानगरले विद्यालयहरूलाई नेपाली भाषाप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गर्दै भनेको छ, “यदि कुनै विद्यालयले यस किसिमको कार्य गरिरहेको छ भने तुरुन्त बन्द गर्न सूचित गरिन्छ।”
निजी विद्यालयहरूमा बढ्दो अङ्ग्रेजी भाषाको दबाब
पछिल्लो समय राजधानीका केही निजी विद्यालयहरूमा अङ्ग्रेजी बाहेक अन्य भाषा प्रयोग गर्न निषेध गरिएको, विद्यार्थीलाई नेपाली वा आ-आफ्नो मातृभाषामा संवाद गर्दा शिक्षकले टोकेको वा अपमानजनक व्यवहार गरेको अभिभावकहरूले गुनासो गर्दै आएका छन्।
शिक्षाविद्हरू भन्छन् — भाषा शिक्षाको एउटा माध्यम हो, तर मातृभाषा वा राष्ट्रभाषालाई दबाबमा पार्ने अभ्यासले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्न सक्छ।
शिक्षा विभागको अवलोकन पनि सुरु
महानगरले अब विद्यालयहरूको भाषासम्बन्धी नीति र व्यवहारबारे निगरानी बढाउने बताएको छ। विद्यालयको आन्तरिक अनुशासनसँगै भाषा सम्बन्धी नीति शिक्षाको मूल उद्देश्यअनुसार हुनुपर्ने र बालबालिकाको अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्ने महानगरको भनाइ छ।
महानगरका एक अधिकारीले रातोपाटीसँग भने, “शिक्षा अंग्रेजीमा दिनु प्राविधिक पक्ष हो, तर संवादका लागि नेपाली भाषा प्रयोग गर्न नदिनु गैरजिम्मेवार अभ्यास हो। हामीले चेतावनी मात्र होइन, आवश्यक परे कडाभन्दा कडा कदम चाल्छौं।”
यसैसँगै, काठमाडौँ महानगरपालिकाले विद्यार्थीहरूलाई नेपाली भाषामा सहज रूपमा संवाद गर्ने अधिकार सुनिश्चित गर्न सबै विद्यालयसँग सहकार्य गर्ने पनि बताएको छ।



प्रतिक्रिया दिनुहोस