काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा बिहानैदेखि वर्षा, मौसम विभागले दियो सतर्कता
काठमाडौँ, वैशाख २१ — देशभर पछिल्लो केही घण्टादेखि सक्रिय मौसम प्रणालीका कारण काठमाडौँ उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय छ।
महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशसहित देशका पहाडी क्षेत्रहरूमा बिहानैदेखि आकाश ढाकिएको छ भने केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी भूभागमा भने आकाश सामान्यतया खुल्ला रहेको जनाइएको छ।
दिउँसो र रातिको पूर्वानुमान
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, लुम्बिनी लगायतका पहाडी क्षेत्रका केही स्थानमा तथा अन्य भूभागका थोरै ठाउँमा चट्याङ्ग र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ। साथै हिमाली भेगका थोरै स्थानहरूमा हल्का हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशको पहाडी भूभागमा सामान्य बदली रहनेछ भने केही स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।
सतर्कता अपनाउन अनुरोध
मौसमको यस्तो स्थितिले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्ने भएकाले महाशाखाले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। विशेष गरी चट्याङ्ग र हावाहुरीका सम्भावित जोखिमप्रति सचेत रहनु आवश्यक छ।



प्रतिक्रिया दिनुहोस