सेन्ट लरेन्सका ‘बिएस डब्ल्यु’ उर्तीण बिद्यार्थीलाई जापानमा ‘जब प्लेसमेन्ट’ को अवसर
काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका बीएसडब्ल्यू (स्नातक तह) उर्तीण विद्यार्थीहरूलाई जापानको एक प्रतिष्ठित सामाजिक संस्थामा रोजगारीको अवसर प्रदान गर्ने विषयमा सहकार्य सुरु भएको छ । यस सहकार्यका लागि जापानको सामाजिक संस्था ‘लाईफ स्टेज एनपिओ’ र सेन्ट लरेन्स कलेजबीच बिहिबार छलफल भएको हो । सो छलफलमा लाईफ स्टेज एनपिओका अध्यक्ष हिसोसी किसी खावा र कलेजका प्रमुख पुरुषोत्तम महर्जनबीच जापानमा ‘जव प्लेसमेन्ट’ का अवसर प्रदान गर्ने विषयमा सहमति भएको छ ।
प्रारम्भिक चरणमा सेन्ट लरेन्स कलेजका चार जना विद्यार्थीले यो अवसर पाउनेछन । आगामी दिनमा जापानको यो संस्थाको आवश्यकता अनुसार कलेजका अन्य विद्यार्थीहरूलाई पनि यस किसिमको अवसर प्रदान गर्ने संस्थाका अध्यक्ष खावाले जानकारी दिएका छन् ।
‘लाईफ स्टेज एनपिओ’ जापानभर २६ वटा शाखा भएको गैरसरकारी संस्था हो, जसले अटिज्म, मद्यपानसम्बन्धी समस्याहरू र अन्य सामाजिक सेवाका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ । सेन्ट लरेन्स कलेजले इच्छुक र योग्य विद्यार्थीहरूलाई उक्त संस्थासँग जोड्ने काम गर्नेछ भने संस्थाका प्रतिनिधिहरूले अन्तर्वार्ताद्वारा विद्यार्थीहरूलाई छनोट गरी जापानमा कामको अवसर दिने बताएका छन् ।
सो अवसरमा संस्थाका उपाध्यक्ष नाकानिसी काजुताका, श्रम व्यवस्थापन विभागका सदस्य अकिको आरारागी र किमियो मात्सुओ, तथा अन्तर्राष्ट्रिय श्रम व्यवस्थापन संयोजक सुजन प्रताप विवस सहभागी थिए । कलेजको भ्रमणपछि क्याम्पस प्रमुख महर्जनले संस्थाका अध्यक्ष खावालाई मायाको चिनोसमेत हस्तान्तरण गर्नुभएको थियो ।

कलेजका प्रमुख पुरुषोत्तम महर्जनले यस सहकार्यको बारेमा नयाँ पोस्टलाई जानकारी दिँदै भन्नुभयो–‘हाम्रो कलेजमा बिएसडब्ल्यू अध्ययन गरेका विद्यार्थीहरुई नेपालमा इन्टर्नसीप र जब प्लेसमेन्टका अवसरहरु खोज्ने काम त गरिरहेकै थियौं । नेपालमा विभिन्न १९ वटा संस्थाहरुमा इन्टर्नसिप र जव प्लेसमेन्टको काम भइरहेको छ । हाम्रो विद्यार्थीहरु अन्र्तराष्ट्रिय स्तरका सामाजिक संस्थामा पनि काम गर्न इच्छुक हुनुहुन्छ भने त्यस्ता विद्यार्थीहरुलाई लक्षित गरेर जापानको लाईफ स्टेज एनपिओ संस्थासँग सहकार्य थालेका छौं ।’
कलेजमा विद्यार्थीहरु र सो संस्थाका अध्यक्ष लगायत अरु पदाधिकारीसँग आज छलफल भएको उहाँले बताउँनुभयो । सो संस्थामा काम गर्न जानेबारे विद्यार्थीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।
क्याम्पस प्रमुख महर्जनले भन्नुभयो–‘पढाइका क्रममा र इन्टर्नशीपको दौरान आफूले सिकेका अनुभव सुनाउँदै बिद्यार्थीले उत्सुकता देखाउँनुभएको छ भने ति विद्यार्थी मध्येबाट यो वर्ष ४ जना विद्यार्थीहरुलाई जापानमा जव प्लेसमेन्ट दिने भनेर उहाँहरुले जानकारी गराउँनुभएको छ । हाम्रो कलेजबाट विएसडब्ल्यू उर्तीर्ण गर्नुभएका विद्यार्थीहरुका लागि यो महत्वपूर्ण अवसर भएको हामीले ठानेका छौं । हामीले बिद्यार्थी भाइबहिनीहरुलाई एउटा बाटो देखाएका छौँ, उहाँहरु यसमा आफ्नो चाहना र रुची अनुसार निर्णय गरेर अघि बढ्न सक्नुहुन्छ ।’



प्रतिक्रिया दिनुहोस