शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा : मेला व्यवस्थापन चुस्त–दुरुस्त पार्न मेयर नापितको निर्देशन  

पश्चिम खबर
२९ पुष २०८१, आइतबार

२८ पुस २०८१
काठमाडौं ।
साँखुमा भोली पुस २९ गतेदेखि १ महिना सञ्चालन हुने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार शंखरापुर नगरपालिकाको हलमा भएको मेला ब्यवस्थापनको छलफलमा नगरप्रमुख रमेश नापितले मेलासँग सम्बन्धित विभिन्न सरोकारवाला पक्षहरूको तयारीबारे जानकारी लिनुभएको छ ।
सो अवसरमा बोल्दै उहाँले मेलालाई सभ्य, भव्य र व्यवस्थित ढङ्गले सञ्चालनका लागि जिम्मेवारी लिएका विभिन्न सरोकारवाला पक्षलाई कुशलतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।
शान्ति सुरक्षाको व्यवस्थापन, सवारी पार्किङ र यातायात व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन र शंखरापुर सक्व महोत्सवको तयारीका बारेमा जानकारी लिँदै सम्पूर्ण सरोकारवाला पक्षलाई आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
सो अवसरमा शान्ति सुरक्षा व्यवस्थापनको तयारी बारे प्रहरी प्रभाग साँखुका इन्चार्ज प्रहरी निरिक्षक नवीन चुदाली, यातायात व्यवस्थापन संयोजक एवं वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, शंखरापुर सक्व महोत्सवबारे नगर प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, स्वास्थ्य शिविर सञ्चालनबारे शंखरापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत विष्णुप्रसाद चापागाईँ लगायतले मेला तयारीबारे जानकारी गराउनुभएको थियो ।
१ महिनासम्म चल्ने शालीनदी मेलामा प्रत्येक दिन बिहान ६ बजेदेखि स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।
नगरपालिकाबाट एउटा एम्बुलेन्सका साथै अन्य विभिन्न संस्थाबाट  ३ वटा एम्बुलेन्स, ३ वटा स्ट्रेचर, नगर अस्पतालबाट पाइने औषधी तयारी अवस्थामा राखिने भएको छ ।
मेलामा बिहान ६ बजे देखी साँझसम्म एक जना चिकित्सक सहित कम्तीमा ३ जना स्वास्थ्यकर्मी सहितको स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी छ ।
यस्तै फोहोर मैला व्यवस्थापनका लागि ठाउँ ठाउँमा डस्टबिनको व्यवस्था गरिने, मेलामा पसल राख्नेहरूलाई फोहोर कार्ड बनाएर शूल्क लिने योजना राखिएको छ ।
साथै नगरप्रमुख रमेश नापितको नेतृत्वको मूल अनुगमन समितिले बजार अनुगमन गर्ने व्यवस्था गरिएको छ । सो समितिमा साँखुमा रहेका विभिन्न संस्थाका प्रतिनिधि, राजनितिक दलका प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।  बजारबाट गुनासो आएमा ५ मिनेट भित्र घटनास्थल पुगेर मूल अनुगमन समितिलाई रिपोर्टिङ गर्न नगर प्रहरी बलका प्रमुख आङकाजी शेर्पालाई दिने निर्णय भएको छ ।
सो बैठकमा मेयर रमेश नापित, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, साँखु प्रहरी प्रभाग प्रमुख नवीन चुदाली, शालीनदी मेला व्यवस्थापन समिति महासचिव एलपी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संशोधन गर्दै नगरप्रमुख रमेश नापितले छलफलमा उठेका विषयहरूलाई मेला व्यवस्थापनका विभिन्न समिति–उपसमिति तथा सरोकारवाला पक्षलाई कार्यान्वयन गर्नका लागि आग्रह गर्नुभयो ।