यो वर्ष पनि शंखरापुर नगरपालिकाद्धारा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

मिहेनत गरेर सरकारी सेवामा प्रवेश गर्न मेयर नापितको आग्रह 

पश्चिम खबर
२ फागुन २०८१, बिहिवार
सो अवसरमा बोल्नुहुँदै नगरप्रमुख रमेश नापितले देशमा बेरोजगारी दर बढिरहेको बताउँहुदै शंखरापुरका विद्यार्थीहरूलाई सरकारी जागिर खाने प्रवेशद्वारको रूपमा रहेको लोकसेवा परीक्षामा सफल गराउन सो कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले तयारी कक्षामा नियमित सहभागी भई परीक्षामा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्नका लागि सहभागी विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । अघिल्लो पटक लोकसेवा तयारी कक्षामा सहभागी मध्ये ३ जनाले नाम निकाल्न सफल भएको बताउनुहुँदै यो वर्ष सो भन्दा बढी सङ्ख्यामा नाम निकाल्ने गरी मिहिनेत गर्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो–‘देशमा बेरोजगारी दर बढिरहेको छ । बेरोजगारी दर कम गराउनका लागि हामीले विभिन्न सीपमूलक तालिम कार्यक्रम गर्दै आएका छौँ । महिलाहरूलाई विभिन्न तालिम दिएर अगाडि बढाएका छौँ । हाम्रो नगरपालिकाका शिक्षित युवाहरू पनि विदेश जाने चलन चलेको छ । शिक्षित युवाहरूलाई सरकारी जागिर खानका लागि सहयोग पुगोस् भनेर हामीले यो कार्यक्रम अगाडि बढाएका छौँ । समृद्ध शंखरापुर बनाउनका लागि युवाहरूलाई अगाडि बढाउने कार्य योजना अन्तर्गत यो कार्यक्रम गरेका हौँ । तपाईँहरूले पक्कै पनि लोकसेवामा नाम निकाल्नुहुनेछ भन्ने अपेक्षा लिएको छु ।’
सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले लोकसेवामा सफल हुन्छु भन्ने प्रतिबद्धता सहित तयारी कक्षामा सहभागी भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले आफूले स्वास्थ्य सेवा समूहबाट ४ महिनाको तयारीमै लोकसेवा पास गरेर प्रशासन तर्फ उपसचिवमा नाम निकाल्न सफल भएको बताउनुभयो । उहाँले विगतका दिनमा भन्दा अहिले लोकसेवामा नाम निकाल्न कठिन नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘लोकसेवा परीक्षामा सहभागी हुनका लागि अहिले महिला, जनजाति, पिछडिएको क्षेत्र लगायतका आरक्षण छ, पहिलेको जस्तो कडा प्रतिस्पर्धा छैन । हाम्रो छिमेकी देश भारतको तुलनामा यहाँ त्यति धेरै कडा प्रतिस्पर्धा नभएकोले पनि तपाईँहरूलाई सहज छ । तपाईँहरूले अलिकति मात्रै मिहेनत गर्नुभयो भने पनि लोकसेवा पास गर्न सक्ने अवस्था छ ।’ उहाँले करार र ज्यालादारी रूपमा रहेका कर्मचारीलाई पनि लोकसेवा मार्फत सरकारी सेवामा प्रवेशका लागि आग्रह गर्नुभयो ।
यस्तै शंखरापुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले सीपमूलक तालिम तथा निःशुल्क लोकसेवा तयारी कक्षाका माध्यमबाट रोजगारी सिर्जना गर्न खोजिएको बताउनुभयो । शिक्षित युवाहरूको लोकसेवामा ठुलो आकर्षण रहेको, हरेक वर्ष नौ दश लाख विद्यार्थी सहभागी हुने गरेको बताउँदै शंखरापुर नगरपालिकाका शिक्षित युवाहरूलाई सरकारी सेवामा प्रवेशका लागि सहज गराउनका लागि यो कार्यक्रम गरिएको बताउनुभयो । उहाँले नगरपालिकाले निःशुल्क रूपमा तयारी कक्षा गराएको त हो नी भनेर हल्का रूपमा नलिई सरकारी सेवामा प्रवेश गर्ने अठोटका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुँदै वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले लोकसेवा तयारी कक्षामा प्रशिक्षण लिँदै सफल हुन शुभकामना दिनुभयो । साथै तयारी कक्षामा नियमित रूपमा सहभागी भएर सरकारी सेवामा नाम निकाल्ने गरी मिहेनत गर्न पनि उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव रवि शर्मा, स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चापागाईँ, कृषि शाखा प्रमुख सीता गुरागाईँ लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम सञ्चालन वरिष्ठ शाखा अधिकृत सुभद्रा पुडासैनीले गर्नुभएको थियो ।
शंखरापुर नगरपालिकाले गरेको सो तयारी कक्षा चैतन्य एकेडेमीले सञ्चालन गरेको छ । सो लोकसेवा तयारी कक्षामा शंखरापुर नगरपालिकाका विभिन्न वडाबाट विद्यार्थीहरू सहभागी भएका छन् ।

धेरै पढिएको