पूर्वराजाले भने–व्यवस्था बदल्नेले अवस्था परिवर्तन गर्न सकेनन्
पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रको वर्तमान अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले नेपालमा पटक–पटक व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै रहनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी सन्देशमा उनले राष्ट्रिय एकताको आवश्यकता औंल्याउँदै जनतालाई मुलुकको हितमा एकजुट हुन आग्रह गरे।
शाहले राजगद्दी त्याग्नु आफ्नो कमजोरी नभएको उल्लेख गर्दै नेपाली जनताको हितका लागि आफू सधैं त्याग गर्न तयार रहेको बताए। इतिहास मेटिँदै जानु, युवा विदेशिनु, नेपालीहरूको ऋणभार बढ्नु, र व्यापार धरासायी हुनु गम्भीर चिन्ताको विषय भएको उनले बताए। उनका अनुसार, निषेधको दृष्टिकोणले होइन, सबैलाई समेट्ने प्रजातान्त्रिक मूल्यमान्यता अपनाउँदा मात्र देश समृद्ध बन्न सक्छ।
प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गरेका हुन् । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आह्वान गरे ।
जनताको भलोका लागि आफूले ओहोदा र सुख सुविधा त्यागेको शाहको दाबी छ । राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न शाहले दलहरुलाई चेतावनी दिए । नेपालको उन्नतिका लागि त्याग गरेको र जनहितमा अन्य कुरा पनि त्याग्न तयार रहेको बताए ।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी रहेको उल्लेख गरे । प्रजातन्त्र आजको शासन पद्धतिमा उच्चतम पद्धति हुनुपर्ने शाहले बताए । प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्ने उनले बताए ।
‘पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’
‘निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन’ शाहले भिडियो वक्तव्यमा भनेका छन्, ‘पक्ष विपक्षको अहंकार आआफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।’
देशको इतिहास मेटिँदै गएको अनुभूति पूर्व राजा शाहले गरेका छन् । नेपालीको पसिना स्वदेशमा नभई बाहिर पोखिएको शाहले बताए । ‘जन्मदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ,’ शाहले भने । विद्यार्थी र शिक्षक पातलिँदै गएको र व्यवसाय, व्यापार निरन्तर धरासायी भएको शाहको बुझाइ छ ।



प्रतिक्रिया दिनुहोस