अमेरिकाबाट निष्कासित ८ नेपाली चार्टर विमानमार्फत काठमाडौं फिर्ता

पश्चिम खबर
२२ फागुन २०८१, बुधबार

फाल्गुन २१, २०८१

काठमाडौँ — अमेरिकी अध्यागमन कानुन उल्लङ्घन गरेका ८ नेपाली नागरिकलाई चार्टर विमानमार्फत अमेरिका सरकारले नेपाल फिर्ता पठाएको छ। ती नेपाली नागरिकहरूलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार ग्रिफोन एयरको गल्फजेटस्ट्रिम जहाज बिहान १०:२० बजे अवतरण भएको थियो। उक्त चार्टर विमान अमेरिकाको न्यु ह्याम्पसायरस्थित पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएको थियो। अल्बानियामा केही यात्रु ओरालेपछि विमान सोझै काठमाडौं आएको हो।

सूत्रका अनुसार निष्कासित नेपाली नागरिकहरूलाई अल्बानिया सम्म हतकडी लगाइएको थियो। अमेरिकामा अध्यागमन कानुन उल्लङ्घन गरेको भन्दै केहीलाई अदालतले निष्कासनको आदेश दिएको थियो भने केहीलाई गैरकानुनी रूपमा काम गरिरहेका बेला पक्राउ गरिएको थियो।

डोनाल्ड ट्रम्प प्रशासनको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिका सरकारले फिर्ता पठाइसकेको छ। ट्रम्प प्रशासनले गैरकानुनी रूपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्ने नीति लिएको छ। यसअन्तर्गत, इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट (ICE) ले अवैधरूपमा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै कारबाही तीव्र पारेको छ।

यसअघि, अमेरिकी अधिकारीहरूले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई व्यावसायिक एयरलाइन्समार्फत नेपाल फर्काउने गरेका थिए। तर, यो पटक चार्टर विमान प्रयोग गरेर उनीहरूलाई सामूहिक रूपमा स्वदेश फर्काइएको हो।

यस घटनाले अमेरिकी अध्यागमन नीति कडा हुँदै गएको संकेत गर्छ भने नेपाल सरकारका लागि पनि विदेशी भूमिमा गैरकानुनी रूपमा बसिरहेका नेपाली नागरिकहरूको सुरक्षाका विषयमा गम्भीर रूपमा सोच्नुपर्ने अवस्था आएको छ।


धेरै पढिएको