दीपक थापा नेपाल प्रहरीको ३१औं आईजीपीमा नियुक्त

पश्चिम खबर
४ चैत २०८१, सोमबार

काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो।

थापा हालसम्म केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत थिए। उनी प्रहरी संगठनको ३१औं आईजीपी बन्न सफल भएका छन्। आईजीपीको प्रतिस्पर्धामा रहेका तीन अतिरिक्त महानिरीक्षक (एआईजी)मध्ये उनी वरीयतामा पहिलो नम्बरमा थिए।

आईजीपीको दौडमा रहेका अन्य दुई प्रतिस्पर्धीमध्ये सुदीप गिरी दोस्रो स्थानमा थिए भने टेकबहादुर तामाङ तेस्रो स्थानमा थिए। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन् भने तामाङ उपत्यका प्रहरी कार्यालयमा छन्।

थापा २०५२ साल भदौ १९ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए। उनी २०७९ चैत ६ गते वसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए। त्यसपछि कुँवर आईजीपी बनेका थिए। गिरी र तामाङ भने २०७९ चैत २४ गते एआईजीमा बढुवा भएका थिए।

मन्त्रिपरिषद्ले मेरिट प्रणालीअनुसार थापालाई आईजीपीमा नियुक्त गरेको हो। यसअघि वसन्त कुँवर पनि सोही आधारमा बढुवा भएका थिए। यदि प्रहरी ऐनमा कुनै परिवर्तन नभए, नव नियुक्त आईजीपी थापाले आगामी करिब ६ महिनासम्म ८९ हजार प्रहरीको नेतृत्व गर्नेछन्।


धेरै पढिएको