एसईई परीक्षा आजदेखि सुरु, गत वर्षभन्दा ४९ हजार बढी विद्यार्थी सहभागी

पश्चिम खबर
७ चैत २०८१, बिहिवार

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार बिहान ८ बजेदेखि दुई हजार ७९ परीक्षा केन्द्रमा एकसाथ परीक्षा सञ्चालन भइरहेको छ।

यो वर्ष एसईई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी छन्, जुन अघिल्लो वर्षको तुलनामा ४९ हजार २८६ ले बढी हो। पहिलो दिन परीक्षार्थीहरूले अनिवार्य अङ्ग्रेजी, संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना तथा मदरसातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा दिइरहेका छन्।

बोर्डले परीक्षा व्यवस्थित बनाउन १५० विद्यार्थीसम्मको परीक्षा केन्द्रमा एक सहायक केन्द्राध्यक्ष र प्रत्येक २० विद्यार्थीमा एक निरीक्षक खटाएको छ। परीक्षाको तालिका अनुसार चैत ८ गते अनिवार्य नेपाली, १० गते गणित, १२ गते विज्ञान तथा प्रविधि, १३ गते सामाजिक, १४ गते ऐच्छिक प्रथम र १५ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुनेछ।

बोर्डले यस वर्ष असार ७ गतेभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको छ। न्यूनतम ३५ अङ्क नपुगे अनुत्तीर्ण हुने व्यवस्था यस वर्ष पनि कायम रहनेछ। गत वर्ष एसईईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएकाले यो वर्ष उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ।


धेरै पढिएको