बिम्स्टेक शिखर सम्मेलनपछि ओली–मोदीबीच वार्ता, द्विपक्षीय विषयमा छलफल

पश्चिम खबर
२२ चैत २०८१, शुक्रवार

२२ चैत, बैङ्कक।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच थाइल्याण्डको बैङ्ककमा भेटवार्ता सम्पन्न भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि उनीहरूबीच यो भेटवार्ता भएको हो।

बैङ्ककमा आयोजित सम्मेलनपछि दुई नेताबीच विविध द्विपक्षीय महत्वका विषयमा संक्षिप्त संवाद भएको बताइएको छ। यद्यपि, भेटवार्ता औपचारिक रूपमा पूर्वनियोजित भने थिएन।

यसअघि ओली र मोदी बिहीबार साँझ बैंककमै थाइल्यान्ड सरकारद्वारा आयोजित रात्रिभोज कार्यक्रममा सँगै देखिएका थिए।

प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच यसअघि पनि राष्ट्रसंघ महासभाको क्रममा अमेरिकाको न्युयोर्कमा साइडलाइन भेट भएको थियो। त्यतिबेला पनि दुई नेताबीच विभिन्न क्षेत्रीय र द्विपक्षीय मुद्दामा छलफल भएको थियो।

बैङ्ककमा भएको पछिल्लो वार्तालाई दुई देशबीचको सम्बन्धमा सकारात्मक संकेतको रूपमा हेरिएको छ।