शंखरापुर नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता भव्यताका साथ सम्पन्न
काठमाडौं । शङ्खरापुर नगर खेलकुद विकास समितिले पहिलो पटक आयोजना गरेको शंखरापुर नगर स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।
गत चैत २६ २७ र २८ गते ३ दिनसम्म भएको सो प्रतियोगितामा भलिबल, कराँते र फुटसल खेलमा प्रतिस्पर्धा भएको थियो । अन्तिम दिन साँखुस्थित सिटिइभिटी मैदानमा भलिबल खेलको फाइनल प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगितामा भलिबल खेलमा छात्रातर्फ आठ स्कुलले प्रतिस्पर्धा गरेका थिए । जसमा कालिका शरण मावि पहिलो, भगवती मावि दोस्रो र भाग्योदय माविले तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै छात्रतर्फ भाग्योदय मावि पहिलो, इभरग्रीन मावि दोस्रो र भगवती माविका छात्रले तेस्रो स्थान हात पारेका छन् ।

भलिबलमै शिक्षकतर्फ वडा नम्बर ६ ले पहिलो स्थान हात पारेको छ भने वडा नम्बर ३ दोस्रो र वडा नम्बर १ र ९ तेस्रो भएका छन् ।
यस्तै फुटसल प्रतियोगितामा छात्रातर्फ इभरग्रीन मावि पहिलो, भाग्योदय मावि दोस्रो र सङ्गम मावि तेस्रो भए ।
फुटसलमा छात्रतर्फ इभरग्रीन मावि पहिलो, भाग्योदय मावि दोस्रो र चिरायु स्कुल तेस्रो भएका छन् ।

कराँते खेलमा आठ वटा विद्यालयले भाग लिएकोमा भगवती मावि पहिलो, इभरग्रीन मावि दोस्रो र शिलादेवी स्कुल तेस्रो भए ।
कराँतेतर्फ वनदेवी स्कुलका राज गोले उत्कृष्ट खेलाडी भएका छन् भने महिला खेलाडीतर्फ शिलादेवी आधारभूत विद्यालयकी समीक्षा वाइवाले उत्कृष्ट खेलाडी हुन सफल भएकी छिन् ।

यस्तै करातेमा विभिन्न तौल समूह अन्तर्गत ३५ किलो समूह पुरुषमा रबिन घलान पहिलो, मिङमार बोम्जन दोस्रो र यसाङ इङनाम र बुद्ध तामाङ तेस्रो भएका छन् ।
यस्तै कराँते काता समूह छात्रामा विनीता थिङ तामाङ पहिलो, जानुका थिङ दोस्रो, समा श्रेष्ठ र अपेक्षा घलान तेस्रो भएका छन् ।

यस्तै फुटसल प्रतियोगितामा छात्रतर्फ इभरग्रिन मावि पहिलो, भगवती मावि दोस्रो र चिरायु स्कुल तेस्रो भएका छन् ।
फुटसल प्रतियोगितामा छात्रातर्फ इभरग्रिन मावि पहिलो, भाग्योदय मावि दोस्रो र सन्दिपानी स्कुल तेस्रो भए ।
खेलको समापनसँगै सिटिइभिटीको हलमा भएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि रहनुभएका शंखरापुर नगरप्रमुख रमेश नापितका साथै नगर खेलकुद विकास समितिका संयोजक श्रीराम श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, वडा नम्बर ७ का अध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, वडा नम्बर ८ का अध्यक्ष पोते थिङ लागतका जनप्रतिनिधिहरूले विजयीहरूलाई प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।

सो अवसरमा बोल्नुहुँदै नगरप्रमुख रमेश नापितले शंखरापुर नगरपालिकाबाट राष्ट्रिय खेलाडी उत्पादनका लागि सो प्रतियोगिताको महत्त्व उल्लेखनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि खेल क्षेत्रको विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरू अघि बढाउने जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले विगतदेखि नै नगर स्तरीय खेलकुद प्रतियोगिता गर्न पाए हुन्थ्यो भनेर आफूले भन्दै आएकोमा यो वर्षदेखि सुरु भएको यस किसिमको प्रतियोगिताले खेलप्रेमीहरु उत्साहित बनेको र खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका सभापति एवं प्रतियोगिताका संयोजक श्रीराम श्रेष्ठले अब आगामी दिनमा शंखरापुरमा कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्दा नगर खेलकुद विकास समितिसँग समन्वय गरेर प्रतियोगिता आयोजना गरेमा त्यसको स्वामित्व नगरपालिकाले लिने बताउँदै यो प्रतियोगिताबाट उत्कृष्टका भएका खेलाडीलाई नगरपालिकाको प्रतिनिधित्व गराउँदै अन्य प्रतियोगितामा पठाउनका लागि सहज हुने उल्लेख गर्नुभयो ।




प्रतिक्रिया दिनुहोस