राष्ट्र बैंकको ५८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी, बैंक तथा वित्तीय संस्थालाई आवेदन आह्वान
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषबाट ५८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचना जारी गर्दै उक्त रकम वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूमा एक वर्ष अवधिका लागि राख्न लागेको जनाएको छ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ४६ करोड ४० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ७० लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा २ करोड ९० लाख रुपैयाँ मुद्दती निक्षेपको रूपमा राखिनेछ।
२०७९ वैशाख १६ देखि २०८३ वैशाख १६ सम्म (३६६ दिन) को अवधिका लागि लगानी गरिने यो निक्षेपका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ११ वैशाख बिहान १० बजेदेखि दिउँसो १ः३० भित्र आवेदन दिनुपर्नेछ।
निक्षेपको आवेदन दिन बैंक तथा वित्तीय संस्थाहरूले केन्द्रीय बैंकले तोकेका विभिन्न मापदण्डहरू पूरा गर्नु पर्नेछ। ती मापदण्डहरूमा सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुगेको, न्यूनतम पूँजी कोष कायम गरेको, निष्क्रिय कर्जा ८ प्रतिशतभन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम रहेको, तरल सम्पत्तिको न्यूनतम सीमा कायम गरेको तथा कर्जा/निक्षेप अनुपात निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्नेछ।
यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेका संस्थाहरूको हकमा कम्तीमा ६ महिना अगाडि त्यस्तो कारबाही फुकुवा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा नगरिएको वा भएको भए पनि ६ महिना अघि फुकुवा भइसकेको हुनुपर्नेछ। साथै, सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने शर्त पनि लगानीका लागि लागू हुनेछ।
राष्ट्र बैंकको यो निर्णयले वित्तीय प्रणालीमा तरलता व्यवस्थापन र दीर्घकालीन लगानी सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस