शिक्षक आन्दोलन निर्णायक चरणमा, अध्यक्ष सुबेदीले गाउँका शिक्षकलाई काठमाडौँ आउन आग्रह

पश्चिम खबर
११ वैशाख २०८२, बुधबार

काठमाडौं । २२ दिनदेखि जारी शिक्षक आन्दोलन थप सशक्त बनाउने तयारीसँगै राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले गाउँघरमा रहेका शिक्षकहरूलाई पनि आन्दोलनमा सहभागी हुन काठमाडौँ बोलाएका छन्।

आज एक सूचना जारी गर्दै उनले आन्दोलनलाई अझ प्रभावकारी बनाउने निर्णय भएको जानकारी दिँदै, सबै शिक्षकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका हुन्। महासंघको राष्ट्रिय समितिको हालैको बैठकले आन्दोलनलाई थप कडा र सशक्त बनाउने निर्णय गरेको अध्यक्ष सुबेदीले जनाए।

‘यतिका दिनसम्म तपाईंहरूले देखाउनुभएको अनुशासन र संयम सबैको सराहनीय रहेको छ,’ अध्यक्ष सुबेदीले भने, ‘अब निर्णायक मोडमा आन्दोलन प्रवेश गर्दैछ, त्यसैले गाउँघरमा रहेका साथीहरूलाई पनि काठमाडौँ बोलाउनुहोस् ताकि उनीहरूले पनि आन्दोलनमा सहभागिता जनाउने गौरव प्राप्त गर्न सकून्।’

उनका अनुसार आजबाट आन्दोलनको समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कायम गरिएको छ।

शिक्षकहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ।


धेरै पढिएको