कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्रलाई उत्कृष्ट निजामती सेवा पुरस्कार
२३ भदौं, काठमाडौं ।
सरकारले देशभरका नगरपालिका मध्येबाट कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने घोषणा गरेको छ ।
२१ औं निजामती सेवा दिवसरका अवसरमा मिश्रलाई उत्कृष्ट निजामती सेवा पुरस्कार दिने सरकारले घोषणा गरेको हो । देशमा ७५३ पालिका अन्तर्गत नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरुमध्ये मिश्रलाई र गाउँपालिकाहरुमध्येबाट भीमफेदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पाध्येलाई पुरस्कार घोषणा गरिएको हो ।
२०५९ फागुन ६ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गर्नुभएका मिश्रले जिल्ला प्रशासन कार्यालय कालीकोट, जिल्ला विकास समिति डोल्पा, भुटानी शरणार्थी शिविर झापा, जिल्ला प्रशासन कार्यालय झापा, गृहमन्त्रालय, वाणिज्य विभाग, वीर अस्पताल, कान्ती बाल अस्पताल लगायतका निकायहरुमा सेवा गर्नुभएको थियो ।
आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको, देशका दुर्गम जिल्ला डोल्पादेखि झापासम्म काम गरेको, इमान्दारीपूर्वक २२ वर्ष सेवा गरेको उल्लेख गर्दै सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार घोषणा गरेकोमा खुसी लागेको बताए ।
उपसचिव मिश्रको स्थायी घर झापा चन्द्रगढी हो । उहाँले २०५५ सालमा प्रथम श्रेणीमा एमविए उर्तीण गर्नुभएको छ । यस्तै जापान, कोरियामा समेत अध्ययन गर्नुभएको छ । चीन, भारत, श्रीलंका, थाइल्याण्ड, हङकङ लगायतका विभिन्न देशहरुको भ्रमण गर्नुभएको छ । २२ औं निजामती सेवा दिवसका दिन उहाँलाई पुरस्कृत गरिनेछ । उपसचिव मिश्र सहित देशमा विभिन्न सरकारी निकायमा काम गर्ने विभिन्न पदमा रहेका ४८ जना कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार घोषणा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस