अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयर आचार्यको उपचार जारी

पश्चिम खबर
६ फागुन २०८१, सोमबार

५ फागुन, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। पोखरामा आयोजित पोखरा भ्रमण वर्ष २०८० को उद्घाटन समारोहमा बेलुन विष्फोट हुँदा घाइते भएका उनलाई तीन दिन अस्पतालमा उपचार गरिसकेपछि सोमबार घर फर्कन दिइएको हो।

शनिबार पोखराको रंगशालामा आयोजित उक्त कार्यक्रममा बेलुन विष्फोट हुँदा अर्थमन्त्री पौडेलसहित पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पनि घाइते भएका थिए। तत्कालै दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याइएर कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।

बर्न अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीका अनुसार अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै गएकाले उनलाई डिस्चार्ज गर्ने निर्णय गरिएको हो। चिकित्सकहरूका अनुसार उनको घाउ सामान्य रूपमा निको भइसकेको छ भने फोक्सोमा कुनै गम्भीर असर देखिएको छैन। त्यसैले थप अस्पताल बसाइ आवश्यक नरहेको ठहर गर्दै उनलाई डिस्चार्ज गरिएको हो।

तर, घटनामा घाइते भएका मेयर धनराज आचार्यको भने अझै उपचार भइरहेको छ। अस्पतालका अनुसार पहिल्यैदेखि उच्च रक्तचापको समस्या रहेका कारण उनको अवस्था सामान्यभन्दा केही जटिल छ। हृदयरोग विशेषज्ञहरूको परामर्श अनुसार थप केही दिन अस्पतालमै उपचार गर्ने निर्णय गरिएको छ।


धेरै पढिएको