राजावादी आन्दोलन अघि बढ्दै गर्दा नेतृत्वमै विवाद

पश्चिम खबर
५ चैत २०८१, मंगलबार

काठमाडौं । राजसंस्था पुनःस्थापनाको उद्देश्यसहित गठन गरिएको संयुक्त जनआन्दोलन समिति आन्दोलन सुरु नहुँदै विवादमा परेको छ। पूर्वपञ्च नवराज सुवेदीको नेतृत्वमा समिति गठन गरिएपछि राप्रपा र राप्रपा नेपालका शीर्ष नेताहरूले असहमति जनाएका छन्।

राजनीतिक दलहरूलाई छलफलबिनै समितिमा समेटिएको भन्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपाल अध्यक्ष कमल थापा र पूर्वमन्त्री केशरबहादुर विष्टले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले समितिको नेतृत्वबारे समेत प्रश्न उठाएका छन्।

राप्रपा अध्यक्ष लिङ्देनले समितिको घोषणा बारे आफूले समाचारबाट मात्र जानकारी पाएको बताए। ‘संयुक्त जनआन्दोलन समिति घोषणा भएको मैले समाचारबाट थाहा पाएँ। म त्यहाँ उपस्थित छैन,’ उनले भने, ‘राजसंस्था पक्षधरहरूबीच बैठक गरौं भन्ने खबर आएपछि प्रतिनिधि पठाएका थियौं। तर हाम्रा प्रतिनिधिसँग समेत सरसल्लाह नगरिकन समिति घोषणा गरिएछ।’

त्यस्तै, पूर्वमन्त्री केशरबहादुर विष्टले आफू समितिमा नबस्ने घोषणा गरेका छन्। ‘आन्दोलनप्रति मेरो विमति छैन, तर समितिमै बस्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘बैठकमा म पुग्दा समिति बनिसकेको रहेछ। मलाई नराख्नुस् भनेर आएको छु।’

यसैबीच, राजनीतिक दलहरूलाई उपेक्षा गर्दै व्यवसायी दुर्गा प्रसाईंको प्रभावमा पूर्वपञ्चलाई नेतृत्व दिइएको भन्दै राप्रपा र राप्रपा नेपाल असन्तुष्ट बनेका छन्। उनीहरूले जनपरिचालनका लागि नयाँ रणनीति अपनाउने संकेत गरेका छन्।