जनै पूर्णिमाको विशेषता अनेक

तेजनाथ दंगााल
४ भदौ २०८१, सोमबार

नेपालमा अनादिकालदेखि नै विभिन्न प्रकारका चाड्पर्वहरू मनाइँदै आइएको छ । नेपाल यस्तो प्रकारको मुलुक हो जहाँ विभिन्न धार्मिक आस्थाहरू एक अर्काको परिपुरक भएर बाँचेका छन् । आर्यभूमी,तपोभूमी, देवभूमी र ज्ञानभूमिको रूपमा परिचित यश मुलुकमा धार्मिक क्रियाकलापको परम्परा निकै लामो छ । यहाँ मनाइने विभिन्न पर्वहरूमा जनै पूर्णिमा अर्थात रक्षाबन्धन पनि एक हो । यस पूर्णिमालाई ऋषितर्पणी पनि भनिन्छ । जनै पूर्णिमाको दिन ब्राह्मण,क्षेत्री र वैश्यहरूले आफ्नो शरीरमा धारण गरेको पुरानो जनैलाई फेरेर नयाँ जनै धारण गर्ने हुनाले यस दिनलाई जनै पूर्णिमा भनिन्छ ।
पूर्णिमाको दिन आफ्नो देह शुद्धिका लागि विधि अनुसार खोला,नदी,पोखरी र कुण्ड आदि पवित्र जलासयमा स्नानादिकार्य गरी कश्यप,अत्रि,भारद्वाज,जमदग्नी,विश्वामित्र ,गौतम र वशिष्ठ सप्तऋषि गणलाई तर्पण गरी भक्तिभाव गरिने हुनाले यस दिनलाई ऋषि तर्पणी पनि भनिएको हो ।
इतिहासका विभिन्न कालखण्डको अध्ययन गर्ने हो भने जनै पूर्णिमा पर्व विविध प्रकारका समाजमा पनि मनाइन्थ्यो । यो पर्व जातीय सङ्कीणर्ताबाट मुक्त थियो । पौराणिक कथा अनुसार देवगण र असुरगण बिचमा घमासान युद्ध हुँदा इन्द्र पराजित भए । असुरराजको तिनैलोकमा रजाइँ चल्न थाल्यो ।असुरराजले धर्म्कर्म, यज्ञादि कार्यमा प्रतिबन्ध लगाइदिए जसले गर्दा देवताहरूको शक्ति क्षीण भएर गयो । यश घटनाले इन्द्रलाई भयभीत गरायो । यसका बाबजुत पनि शत्रु असुरसङ्ग प्राणान्तसम्म पनि घनघोर युद्ध गर्ने कुरा इन्द्रले आफ्ना गुरु वृहस्पतिलाई सुनाए । यसपछि गुरु वृहस्पतिले जनै पूर्णिमाको दिन रक्षा विधान गरेर इन्द्रको दाहिने हातको नारीमा रक्षाबन्धन बाँधिदिए जसको प्रभावले इन्द्रले असुरलाई पराजित गरेर इन्द्रासन प्राप्त गरे । भनिन्छ यही समयदेखि रक्षा बन्धन बाँध्न थालिएको हो । प्राचीनकालमा गुरूकूलमा शिक्षा आर्जन गर्न जाने शिक्षार्थीहरूलाई गुरूले श्रावण पूर्णिमा कै दिन सरस्वती वन्दना गराइ नयाँ यज्ञाेपवित धारण गराएर अध्ययनमा समावेश गराउँथे भन्ने भनाई पौराणिक ग्रन्थहरूमा पाइन्छ ।
रक्षाबन्धनको सम्बन्धमा पौराणिक कथाअनुसार शिशुपाल बध गरी श्रीकृष्णको हातमा शुदर्शन चक्र पुनरासीन हुँदा चोट लाग्यो र त्यहाँबाट रगत बग्न थालेपछि द्रौपदीले आफ्नो सारी च्यातेर बाँधिदिएकी थिईन । यसको बदलामा श्रीकृष्णले द्रौपदीलाई चीरहरणबाट बचाएका थिए । यसै समयदेखि दिदीबहिनीहरूले दाजुभाइहरूलाई राखी बाँध्न थालेका हुन भन्ने धार्मिक मान्याता पाइन्छ ।
मध्यकालमा “राखी” ले राजनीतिमा पनि ठुलो भूमिका खेलेको थियो । सन् १५२७ मा भारतवर्षमा खानवाको युद्धपछि मेवाड चित्तौडका शासक महराणा साङ्गाको सन् १५२८ मा निधन भयो । यसपछि सन् १५३३ मा गुजरातका शासक सुल्तान बहादुर शाहले चित्तौडगढ राज्यमाथि आक्रमण गरे । तब चित्तौडगढ राज्यकी राजमाता ( महाराणा प्रतापकी हजुर आमा) कर्णावतीले दिल्लीका मुगल बादशाह हुमायुलाई धर्मभाइ बनाइ राखी पठाएर मद्दत मागेकी थिइन् ।यसको बाबजुदमा हुमायुले “राखी”को इज्जत राखेर गुजरातका सुल्तान बहदुर शाहलाई युद्धमा पराजित गरी चित्तौडगढबाट लखेटेर राजमाता कर्णावतीको राज्य उनैलाई सुम्पेका थिए । यसले गर्दा यो पर्व हिन्दु मुश्लिमबिचको सांस्कृतिक सहिष्णुताको पर्व पनि हो । यस्ता परम्परागत मान्यताले भावनात्मक सम्बन्ध राख्छ र मानवीयता साटासाट हुन्छ । इतिहासको अध्ययन गर्दा मुगल शासक जहागिर र अकबर यस पर्वका दिन ब्राह्मणको हातबाट रक्षा बन्धन लगाउँथे ।
जनै पूर्णिमा (श्रावण पूर्णिमा) को दिनलाई बौद्धमार्गीहरूले पनि विशेष पर्वको रूपमा मनाउने गरेको पाइन्छ । जनै पूर्णिमाको दिनमा बौद्धधर्मावलम्वीहरू गौतम बुद्धले कामभारमाथि विजय हासिल गरेको दिनको रूपमा मनाउने गर्दछ्न् । यसदिन बौद्धधर्मसँग सम्बन्धित चैत्य,स्तूप,विहारहरू सफा गर्दछन् । यसदिन बौद्ध विहारमा रहेका धर्मग्रन्थहरू प्रदर्शनको लागि राखिन्छ्न । यसदिन ठमेल स्थित विक्रमशील विहारमा पवित्र बौद्धग्रन्थ “प्रज्ञापारमिता”को दर्शन गर्न ठूलो भिड लागेको हुन्छ। यसदिन नैवटा बौद्ध महाविहारहरू निरीक्षण गर्न जानू भन्ने लोक मान्यता पाइन्छ ।
श्रावण पूर्णिमा अर्थात जनै पूर्णिमाको दिन किसान वर्गको लागि बेग्लै महत्वको रूपमा रहेको छ । यसदिन काठमाडौं उपत्यकाका किसानहरूले भ्यागुत्ताको पूजा गर्ने
गर्दछन् । यसदिन किसानहरू भ्यागुतोलाई खुवाउने दिन भनेर खेतमा गएर क्वाँटी चढाउने गर्दछन् । तराईतिर त खेतमा गएर पूजा गर्न पुजारी नै नियुक्त गरिन्छ । अर्कोतिर भ्यागुत्ताले घण्टाकर्ण राक्षसलाई मार्न ठूलो सहयोग पुर्‍याएको भन्ने मान्यताको आधारमा काठमाडौं उपत्यकामा भ्यागुत्ताको पुजा गरिएको हो भन्ने जनविश्वास छ । यस पूर्णिमालाई क्वाँटी
पूर्णिमाको रूपमा मनाउने चलन पनि छ । वर्षको झरीले शिथिल भएको शरीर नौ थरीका गेडागुडी पकाएर खादा शरीरभित्रको विकार नष्ट भएर जाने र शरीर स्फूर्त हुन्छ भन्ने विश्वास छ । त्यसैले केही दिनअघिदेखि भिजाएर टुसा उमारिएको गेडागुडीलाई विभिन्न मसलाहरू राखेर गलाएर क्वाँटीकोरूपमा खाने चलन छ । धार्मिक मान्यता अनेकौं भए पनि सामाजिक रूपमा यस दिनलाई वर्षा समाप्तिको दिन पनि मान्ने चलन छ ।
जनै पूर्णिमाको दिनमा तिर्थालु भक्तजनहरू विशेष गरी काठमाडौं उपत्यकाबाट उत्तरतर्फ रसुवा जिल्लामा रहेको गोसाइँकुण्डमा मेला भर्न जान्छन् । यसका अतिरिक्त भक्तजनहरू पाटनको कुम्भेश्वर,भक्तपुरको नगरकोट स्थित महादेव पोखरी (ऎतिहासिक क्षेत्र पनि), काठमाडौंको शंखरापुर नगरपालिका -८ को घुमारीचोकमा अवस्थित मणिचूड, सिन्धुपाल्चोक जिल्ला स्थित पाँचपोखरीमा पनि जाने गर्दछन् । यहाँ गोसाइँकुण्डबाट पवित्र जल आएको छ भन्ने मान्यता छ । यसका अतिरिक्त अशक्त भक्तजनहरू नजिकको खोला, तलाउ,पोखरी, त्रिबेणीमा गएर स्नान गरी जनै फेर्ने गर्दछन् । यसरी तीर्थ,स्नान गर्दा मनोवान्क्षित फल पाइन्छ भन्ने जन विश्वास छ । हाम्रा यस्ता पर्वहरूले धार्मिक,सांस्कृतिक मूल्य मान्याताहरूलाई बचाएर राखेका छन् भने राष्ट्रिय एकतालाई पनि मजबुत बनाएका छन् ।


धेरै पढिएको