साँखुमा राजेन्द्र लिङदेनको संवोधन : देश अहिले आँधी आउनु पूर्वको सन्नटाको अवस्थामा छ

पश्चिम खबर
१६ भदौ २०८१, शनिबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको बिरोध गर्ने यूवाहरुलाई खोजी खोजी पक्राउ गरी थुन्ने काम भइरहेको भन्दै विरोध गरेका छन् । शनिवार काठमाडौंको साँखुमा राष्ट्रिय प्रजातान्त्रिक यूवा संगठन शंखरापुर नगर अधिवेशनमा संवोधन गर्दै लिङदेनले सरकार अप्रजातान्त्रिक बनेको उल्लेख गरे ।
उनले भने–‘प्रजातन्त्रमा शान्तिपूर्ण रुपमा बिरोध गर्न नपाउँने, लेख्न नपाउँने भनेपछि कस्तो व्यवस्थाको अभ्यास गरिरहेका छन् त ? आज हामीले यिनीहरुलाई सोध्नुपर्छ, कांग्रेस र एमाले सरकारमा छन्, आफ्नो विरोध गर्नेलाई उनीहरुले धमाधम पक्राउ गर्न थालेका छन् । उनीहरु अहिले जुन हैसियतमा छन्, उनीहरु दौडिएर वा हिँड्दै हिँड्दै आएका हुन ? उनीहरु हिजो यसरी नै बिरोधको बाटोबाट आएका हैनन् ? यसै प्रकारको नाराजुलुस, यसै प्रकारको बिद्रोह गरेर आएका होइनन् ? आजका यी यूवाहरुले भन्दा हजारौं गुणा विध्वंशको काम गरेर आएका होइनन् ?’
देशमा यूवाहरु बस्न लायक नभएको बताउँदै उनले १२ कक्षा पास गरिसकेपछि विदेश जानुपर्ने अवस्था आएको बताए । खर्च जुटाउने अमेरिका, क्यानडा, अष्ट्रेलिया र खर्च जुटाउन नसक्नेहरु मलेसिया र साउदी अरब जानुपर्ने अवस्थामा रहेको बताए । देशमा उचीत शिक्षा र रोजगारीको अवसर नरहेको बताउँदै अध्यक्ष लिङदेनले आज हरेकको रोजाई विदेश हुने यो अवस्था कसले सिर्जना ग¥यो भन्दै प्रश्न गरे ।
उनले देशमा संकट नदेखिएपनि संकट आउनुपूर्वको अवस्थामा रहेको टिप्पणी गरे ।
उनले भने–‘देशमा अहिले बन्द हडताल जुलुस नहुँदा केही भएको छैन जस्तो देखिन्छ तर देशको अवस्था ठीक छैन । देश अहिले आँधी आउँनु अगाडिको शान्ति जस्तो छ । आँधी आउँनु अघि कहिले कस्तो चकमन्न हुन्छ त्यस्तो अवस्थामा छ । अब आउँने आँधी देशको बर्वादीको लागि हुनुहुँदैन । देशको हितको लागि हुनुपर्छ । अहिलेसम्म जरा गाढेर बसेको बिकृति बिसंगति र भ्रष्टाचारलाई बढार्ने खालको आँधी हुनुपर्छ र आँधीलाई हामीले त्यस दिशामा परिणत गर्नुपर्छ ।’
कांग्रेस एमालेको गठबन्धन राजनीतिक दुनियाँमा अचम्मको परिदृश्य देखिएको बताउँदै पहिलो र दोश्रो राजनीतिक दल मिलेर सरकार बनाउनु दुर्लभ परिस्थितिमा मात्र हुने उल्लेख गरे । संक्रमणकालीन व्यवस्था आयो, एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा जानुपर्ने अवस्था आयो, देशलाई एउटा अवस्थाबाट अर्को अवस्थामा लानुपर्ने अवस्था आयो भने यसप्रकारको गठबन्धन र सहमति बन्ने भएपनि आज यो उनीहरुको सहमति के का लागि ? भन्दै प्रश्न गरे ।
उनले अव देश बनाउँन युवाहरु राजनीतिमा हस्तक्षेपकारी भूमिकामा आउनुपर्नेमा जोड दिए । यूवाहरु चुनावको बेला जाँड र मोटरसाइकलमा हालिने तेलमा बिकेका कारण पनि देश पछि परेको उल्लेख गरे ।
उनले भने–‘यो देश विग्रियो भने केपी ओली, शेरबहादुर देउवाको केही बिग्रनेवाला छैन, तपाईहरुको भविष्य बिग्रनेछ । यो देशको भविष्यसँग तपाईको भविष्य गाँसिएको छ । कस्ता कस्ता जटिल परिस्थितिमा रहेका देशहरु बनेका छन् । यो देश नबन्नुको कारण बेइमान मान्छेहरुको हातमा यो देश पर्नु हो । योग्य र ठीक मान्छेको हातमा देश पर्ने हो भने, ठीक मान्छेले नेतृत्व गर्न पाउँने हो भने जुनसुकै व्यवस्थापनि ठीक हुन्छ । आज अरबका जनताहरु पेट्रोलिम पदार्थ, तेल बिक्रीबाट जसरी बसी बसी खाइरहेका छन्, जलबिद्युतबाट नेपालीहरुको अवस्थापनि त्यस्तै गराउँन सकिन्छ ।’
उनले १ लाख मेघावाट बिद्युत उत्पादन हुने क्षमता भएपनि नेपालमा अहिले ३ हजार मेघावाट मात्र विद्युत उत्पादन भइरहेको बताए । सरकार इमान्दार भएर उर्जामा मात्रै लगानी गर्ने हो भने संसारको धनी देश हुन बेर नलाग्ने उल्लेख गरे । उर्जा क्षेत्रमा विकास गर्ने हो भने चालिस पचास हजारका लागि कुनैपनि यूवा विदेश जान नपर्ने लिङदेनले बताए । आफूले छोटो समय ४ वर्षदेखि रोकिएको पिपिए खरिद सम्झौता गर्दा आफूले कसैको एक कप चियापनि नखाएको उल्लेख गरे ।
उनले २०४६ सालको परिवर्तनको साढे ३ दशकमा भ्रष्टाचार नियन्त्रणमा कुनै सुधार नभएको र जनताले दुःख पाइरहेको बताए । ३५ वर्षको समयमा देशमा भ्रष्टाचार बढ्यो, हत्या हिंसा बढ्यो, यसलाई नियन्त्रण नगरीकन, देशमा शान्ति कायम नगरीकन भएन, ३ वर्षभित्रमा देशमा शान्ति कायम गराउँछु, चुनावपनि गराउँछु र निर्वाचित जनताका प्रतिनिधिलाई देशको साँचो सुम्पन्छु भन्दै राजा ज्ञानेन्द्रले ३ वर्षको म्याद मागेको बताए । तर १८ महिना नपुग्दै दलहरुले राजा आफै प्रधानमन्त्री जस्तो हुने होइन भनेपछि राजाले १८ महिनामै दलहरुलाई शासन जिम्मा दिएको बताए । तर त्यसयता भ्रष्टाचार र कुशासनमा कुनै सुधार नभएको उल्लेख गरे । ६० देखि ७० लाख नेपाली विदेशमा रहेको अधिकांश युवाहरु रहेको बताउँदै नेपालमा रहेका यूवाहरु बेरोजगारीका कारण लागू औषध दुब्र्यसनीमा रहेको बताउँए । देशलाई गंभीर संकटबाट माथि उठाउँन यूवाहरुको भूमिका आवश्यक रहेकोमा जोड दिए ।


धेरै पढिएको