पूर्वजहरुको देनको रुपमा नेपालको सभ्यता र संस्कृति
-तेजनाथ दंगाल
संसारमा मानव नै यस्तो जीव हो जो सधैं नवीन खोज र अनुभवलाई सँगालेर विभिन्न नवीनतम आयाम दिन निरन्तर लागि परेको हुन्छ । यसैको फलस्वरूप होमोसेपियन्सबाट सुरु भएको मानव विकासको क्रम आजसम्म पनि निरन्तर चलिरहेको छ । मानव विकासको क्रम अफ्रिकाबाट सुरु भएको मानिए तापनी नेपालमा प्राचीन मानवका जीवाश्मा (अवशेष)हरू भेटिएका छन् । बुटवलमामा रामापिथेकसको बङ्गारा स्वीडेनका प्रख्यात् पुरातत्त्वविद् डा.जोन्स मुन्थे,नेपालका विष्णु डङ्गोल र अन्य अमेरिकी वैज्ञानिक टोलीले पत्ता लगाएका थिए । काठमाडौंको धोबीखोला किनारमा भेटिएको नवपाषण ढुङ्गाको औजार (Neolithic Tools) रुसी पुरातत्त्वविद्हरूको टोलीले पत्ता लगाएका थिए । यो औजार ५१ हजार वर्ष पहिलेका मानवहरूले प्रयोग गरेका थिए भन्ने तथ्य प्रमाणित भएको छ । यसैगरी अर्को अन्वेषणमा पुरातत्वविद् जनकलाल शर्माले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको डुमाखालमा ४हजार वर्ष पूर्वका मानवहरूले प्रयोग गर्ने ढुङ्गे औजार फेला पारेका थिए ।यसैगरी महोत्तरी जिल्लाको पाटुमा १ करोड १० लाख वर्ष पुरानो रामापिथेकसको अवशेष पाइएको छ । नेपालको मुस्ताङमा ३ हजार वर्ष पुरानो व्यापारिक नाका रहेको पत्ता लागेको छ । यसैगरी नेपालका अन्य स्थानहरूमा पनि प्राचीन मानवका अवशेष र उनीहरूले प्रयोग गरेका औजारहरू भेटिएका छन् । यी जीवाशेष र औजारहरूको पुरातात्त्विक परीक्षणबाट भारतको आसाममा पाईएका अवशेषहरूसँग मेल खाएको कुरा एक पुरातात्त्विक अध्ययनले देखाएको छ ।
काठमाडौं उपत्यका प्राचीनकालमा जलमग्न थियो भन्ने कुरा इतिहासमा अध्ययन गर्न पाइन्छ तर पनि काठमाडौं उपत्यकाको उत्तर-पुर्वी भागमा रहेको बज्रयोगिनी(मणिचुड)डाँडा,मातातीर्थ र चन्द्रागिरी पहाडको आसपासमा घुमन्ते मानवहरू थिए भन्ने कुरा पुरातात्त्विक अध्ययनले देखाएको छ । काठमाडौं उपत्यकाका छेउछाउमा मानिसहरू भए तापनि त्यहाँ कुनै सभ्यता र संस्कृतिको विकास भएको तथ्यहरू प्राप्त भएका छैनन् ।
एकथरी पुरातत्त्वविद्हरूका अनुसार कपिलवस्तु राज्री ध्वस्त भएपछि त्यहाँबाट भागेका मल्ल,लिच्छवि तथा शाक्यहरूमा कोही पूर्वतर्फ लागे भने कोही सुनकोशीको किनार पछ्याउँदै काठमाडौं उपत्यका आइपुगेका थिए र किराँत भएर उपत्यकामा शासन संचालन गरेका थिए भन्ने कुरा मुन्धुमका ज्ञाताहरूले बताउने गरेका छन् । त्यस समयमा किराँतहरूले मातातीर्थमा राजधानी बनाई बसेका थिए । यतिबेलासम्म पनि उपत्यकाबाट पानी निख्रिसकेको थिएन तर उनीहरूले अग्लो स्थानमा राजधानी बनाई बसेको कुरा पाइन्छ । यी कपिलवस्तुतिरबाट आएका मानिसहरूले काठमाडौं उपत्यकामा आधुनिक धानखेती गर्न सिकाएको भन्ने कुरा पुरातात्त्विक अध्ययनले भारतको आसामबाट चारहजार वर्षअघि आएका मुण्डहरूले काठमाडौं उपत्यकामा धानखेती गर्न सिकाएको भन्ने कुरा तुलनात्मक अध्ययनले देखाएको छ । किराँतहरू खेती गर्दैनथे,उनीहरू शिकार मात्र गर्दथे भन्ने कुरा सत्य देखिंदैन तर उनीहरू शिकारमा पोख्त भने अवश्य थिए ।
किराँती शासनको अन्त्य
कपिलवस्तुसँगै वृज्जिसंघ ध्वस्त भएपछि त्यहाँका मल्ल,शाक्य,लिच्छविहरू सप्तकोसीको बाटो हुँदै कोही पूर्व पहाडतर्फ लागे भने कोही सुनकोसी नदीलाई पछ्याउदै काठमाडौं उपत्यका प्रवेश गरेको कुरा पाइन्छ । उपत्यका आईसकेपछि उनीहरूली किराँती नामबाट शासन सुरु गरेका थिए । उनीहरूली खेतीपाती गर्न थालिसकेको र कुलो निर्माण गरी सिंचाइको प्रबन्ध पनि गरेका थिए । किराँतहरूको तुलनामा लिच्छविहरूसङ्ग ज्ञान बढी थियो । उनीहरूले उपत्यकामा आएको दुई -तीनसय वर्षमा आफूलाई शासन गर्न सक्ने क्षमताको रुपमा विकास गरेका थिए । लिच्छविहरूले उन्नत खेती,उद्योग र व्यापार सञ्चालन गर्न जानिसकेका थिए । लिच्छविहरूका साथ केही ब्राह्मण,पण्डितहरू समेत उपत्यका आएका थिए ।त्यस समयका उपत्यकावासीहरूमा लिच्छविहरूको उन्नतशील व्यवहारबाट प्रभाव बढेको थियो भने किराँती शासकहरूप्रती असन्तोष पैदा भएको थियो । यही अवसरलाई सदुपयोग गर्दै लिच्छविहरूले जनताको साथ लिएर लगभग ३५० ई.पू तिर किराँतहरूसङ्ग विद्रोहात्म युद्ध लडी पराजित गरेर शासन हातमा लिए । यस युद्धमा ललितपुरको च्यासलमा आठसय भन्दा बढी किराँतीहरू मारिएको भन्ने भनाइ छ । च्यासलमा अहिले पनि किराँती शासक र प्रशासकहरूको टाउको गाडिएको स्मारकको रूपमा एउटा सानो मण्डल बनाईएको छ,त्यसलाई नै च्यासल भनिएको हो । किराँतहरूलाई पराजित गर्ने लिच्छविहरू अन्यत्रबाट आएका थिएनन् । वृज्जिसंघबाट भागेर उपत्यकामा बसेका लिच्छविहरू नै थिए।
किराँतहरू किन नेपाल पूर्वतर्फ गए ?
काठमाडौं उपत्यकामा लिच्छविहरूको विद्रोहात्मक युद्धमा हार भएपछि ठूलो संख्यामा किराँतहरू पूर्वतर्फ लागेका थिए ।उनीहरू दक्षिण वा पश्चिम नलागी किन पूर्वतर्फ लागे भन्ने सवाल उठ्न सक्छ । यसको पछाडि एउटै कारण थियो- उनीहरूको एउटा हाँगो पूर्वमा नै बसेकोले त्यही समूहमा मिलेर बस्नको लागि पूर्वतर्फ गएको भन्ने आधार पाइन्छ ।यसरी काठमाडौं उपत्यकामा मानव सभ्यताको जग बस्दै आएको पाइन्छ ।
सभ्यता के हो ?
सभ्यतालाई हल्का ढंगले अर्थ्याउँदा संकुचित हुन्छ । यसले बहुआयामिक पक्षलाई ग्रहण गरेको हुन्छ । कुनै पनि भौतिक विकासलाई सभ्यताको विकास भन्न सकिदैन । सभ्यतासँग भौतिक,सामाजिक,सांस्कृतिक,राजनीतिक,धार्मिक,आर्थिक र बौद्धिक विकासको समग्र अवस्थालाई सभ्यताको विकास भन्न सकिन्छ । किराँतकालमा जग बसेको सभ्यताको विकास लिच्छविकालमा पराकाष्ठामा पुगेको थियो । उच्च्कोटीको सामाजिक जनजीवन,उद्योग,व्यापार,धार्मिक संरक्षण गर्ने गुठी (गोष्ठी)को व्यवस्था कार्यका आधारमा जाति व्यवस्था,भाषा,लिपि,अभिलेख राख्ने प्रणालीको विकास, संगीत,नृत्य,शासन प्रणाली, कार्यका आधारमा जाति व्यवस्था,शासकीय पदहरूको व्यवस्था,भवनहरूको निर्माण ( मानगृह, कैलासकुट भवन, भद्राधिवास), शहरीकरण,आर्थिक विकासले लिच्छविकालम सभ्यताले मजबुत मौलो गाडिसकेको थियो । लामो समयसम्म शासन गरेका लिच्छविहरूले वैदिक सभ्यताका पक्षधर खस आर्यहरूका लागि मठ,मन्दिर स्थापाना गरि धार्मिक र सांस्कृतिक पक्षको विकास गरे भने बौद्ध सभ्यताको विकासमा पनि दरिलो योगदान दिएका तथ्यहरू पाइन्छन् । आठौं शताब्दीमा बौद्धगुरु पद्यसंभवले काठमाडौं उपत्यका लगायत आसपासको क्षेत्रमा बौद्धधर्मको प्रचार गरी बौद्ध सभ्यताको विकास पनि लिच्छविकालमा नै गरेका थिए । उनले निङमापा सम्प्रदायको व्यापक विकास गरेका थिए । यसका अतिरिक्त तन्त्रविद्याको विकास तीव्रगतिमा यही समयदेखि हुँदै आएको हो देखिन्छ । यसरी लिच्छविकालमा सभ्यताको विकाससँगै एक समृद्ध संस्कृतिको निर्माण भयो ।
पानी अर्थात् नदी सभ्यताको विकास
सभ्यताको विकासमा पानीको ठुलो स्थान रहेको छ । पानीलाई जीवनको आधार मानिन्छ । पानीबिना जीवनको अस्तित्व असम्भव प्रायः छ । त्यसैले मानव सभ्यताको विकासमा पानीले गहन भूमिका खेलेको छ । यश कारण मानव सभ्यताको विकास नदी किनार वा ठुलाठुला तलाउको छेउमा भएको पाइन्छ । मानव तथा पशुपंक्षीका लागि खानेपानी, कृषि कार्यका लागि पानी अति आवश्यक हुने हुनाले मानवले पानीको पर्याप्तता भएको स्थानमा बस्ती बसाली सभ्यताको विकास गरेको पाइन्छ । मानव जीवनलाई रसिलो,भरिलो बनाउन पानीको ठूलो महत्व छ । जल प्रवाहित हुने क्षेत्रमा नै हाम्रा पर्व,जात्रा,मेला र उत्सवहरू मनाइन्छ ।विभिन्न नदी,ताल,कुण्ड र पोखरी यसका प्रमुख उदाहरण हुन् । नेपालमा प्रख्यात् गोसाइँकुण्ड,पाँचपोखरी,देवघाट,बराहक्षेत्र ,रुरूक्षेत्र आदिमा ठुलाठुला पर्व, मेला लाग्ने गर्दछ । आर्य जातिको देवकार्य,पितृकार्य र अन्त्यष्टी जस्ता महत्वोपूर्ण कार्यहरू नदी किनारमा हुने हुनाले यसतर्फ प्राचीन मानवहरू सचेत थिए भन्ने आभाष पाइन्छ ।
विशेष गरी नदी किनारमा बस्ती विकास गरी सभ्यताको जग हाल्नुको प्रमुख तीन कारणहरू रहेका थिए:-
१.कृषिको लागि सिंचाइ, पिउने पानी र खाद्यका लागि माछाको पर्याप्तता थियो ।
२.दोस्रो कारण जलमार्ग मार्फत यातायातको प्रबन्ध गर्नु र जलमार्गबाट व्यापार गर्नु थियो ।
३.नदी पार भएर सुरक्षित स्थानमा बस्दा शत्रुले तत्काल आक्रमण गर्न नसकोस भन्ने थियो । प्राचीन मानवहरूका बिचमा पनि आक्रमण र प्रत्याक्रमणका घटनाहरू हुन्थे ।
सभ्यता संस्कृतिको अंग हो । सभ्यताले मानिसको भौतिक प्रगतिलाई सूचित गर्छ भने संस्कृतिले मानसिक क्षेत्रको प्रगतिलाई सूचित गर्दछ । संस्कृतिले जीवनलाई सरल र रमाइलो बनाउँछ । विश्वमा प्रायः सभ्यताको विकास नदी किनारमा नै भएको पाइन्छ । मेसोपोटामियाको सभ्यता दजला एवम् फरात नदी तटमा विकास भएको थियो । मिश्रको सभ्यता नाइल नदीको किनारी क्षेत्रमा भएको थियो । यसै गरी सिन्धुघाँटीको सभ्यता रावी नदीको तटमा भएको पाइन्छ । यो सिन्धु नदीको सहायक नदी मानिन्छ । यसैगरी भारतमा गङ्गा, यमुना,ब्रह्मपुत्र नदीको तटीय क्षेत्रमा सभ्यताको विकास भएको पाइन्छ । चिनियाँ सभ्यता जसलाई ह्वाङ्गो सभ्यता पनि भनिन्छ । ह्वाङ्गो नदीको किनारी क्षेत्रमा यो सभ्यता विकास भएकोले ह्वाङ्गो सभ्यता भनिएको हो । रुसको खगनाट राज्य भोल्गा नदीको किनारमा अवस्थित छ । युरोपको डेन्युब नदीले युरोपका धेरै देश्हरूको शहरलाई घुम्दै लामो यात्रा तय गर्दछ । रोमको सभ्यता कुनै एक नदी किनारमा नभई विभिन्न नदीहरूको सङ्गम स्थल विशेष गरी टिबर नदी किनार विकास भएको थियो । मध्यपूर्वमा रहेको टिग्रीस नदीले मानव सभ्यताको विकासमा गहन भूमिका खेलेको छ । टिग्रीस नदी किनारमा सुमेरिएन, अक्काडियन,बेबिलोनियन सभ्यताको विकास भएको थियो । टिग्रीस र युफ्रेटस नदीले मेसोपोटामियाको विशाल मैदानी क्षेत्रलाई सिचाइ गरेको छ । वेलायतको लण्डन शहरबाट बग्ने थेम्स नदीले लण्डनको विकासमा विशेष प्रभाव पारेको छ ।
बागमती सभ्यताको विकास
काठमाडौं उपत्यकाको उत्तरी क्षेत्रमा रहेको शिवपुरी जंगलबाट निस्केको जल प्रवाहित हुँदै बाघमुखे धाराबाट खसेको छ जसलाई बाघद्वार भनिन्छ । यसैलाई बागमती नदीको उद्गम स्थल मानिन्छ । यो उद्गम स्थलमा नेपाली नयाँ वर्षको दिन ठुलो मेला लाग्ने गर्दछ । यहाँबाट प्रवाहित भएको जल मैदानी क्षेत्रमा आएपछि बागमती नदीको रुप लिन्छ । यही नदीको किनारी क्षेत्रमा प्राचीन मानवहरूको बसोबास भएको र सभ्यताको विकास भएको धेरै तथ्य र प्रमाणहरू पाइन्छन् ।
बागमती नदी गोकर्णेश्वर हुदै दक्षिणतर्फ वहेको छ । यही गोकर्णेश्वर क्षेत्रमा प्राचीन किराँती सभ्यता थियो भन्ने कुरा इतिहासमा पाइन्छ । बागमती नदीको किनारी क्षेत्रमा देउपाटन शहर रहेको अझै पनि देख्न पाइन्छ । शंखमूल क्षेत्र बागमती र मनोहरा नदीको संगम स्थल हुनाले यहाँ किराँती सभ्यता थियो भन्ने इतिहासकारहरूको मत रहेको छ । बागमती र विष्णुमती नदीको संगम स्थल टेकु दोभान अर्थात् चिन्तामणी तीर्थलाई पवित्र स्थान मानिन्छ ।
यसैगरी साँखु (लावण्य देश)को दक्षिणी किनारमा पौराणिक शालीनदी बगिरहेको छ । शालीनदीको मुहान मणिशैल शिखर (मणिचूड डाँडा) बाट वैरमहादेव (नारायणेश्वर) हुँदै शालीनदीमा पुगेर पवित्र धाम हुँदै चागुनारायणको फेदीमा पुगेपछि मनोहरा नदीको नामले कहलिन्छ । यहाँ शालीनदीको कुरा गर्दा साँखु शहरको निर्माण बारे चर्चा गर्नु प्रासंगिक हुन आउँछ । आज भन्दा ३३०० वर्ष अघि वज्रयोगिनी मन्दिरका नवौं पुस्ताका पुजारी जोगदेव बज्राचार्यले सातगाउँ मिलाएर शंख आकारको शहर निर्माण गरेको कुरा मणिशैल महावदान भन्ने ग्रन्थमा उल्लेख गरिएको छ । शालीनदीबाट पश्चिमी किनारमा रहेको साँखु शहरलाई यही शालीनदीले आर्थिक रुपमा सम्पन्न बनाएको हुनाले साँखुमा प्राचीन सभ्यताको विकास भएको हो । साँखु शहर स्थापना भएको १७ वर्षपछि कलिगत सम्बत १८१८ साल पौष कृष्ण दशमीका दिनपछिबाट साँखुमा बज्रयोगिनी जात्रा सुरु गरेको कुरा मणिशैल महावदान महात्म्यमा उल्लेख गरिएको छ । यसरी काठमाडौं उपत्यकाको विभिन्न नदी किनारी क्षेत्रमा मानव बस्ती बसालेर सभ्यता र संस्कृतिको विकास गरेको यथेष्ट प्रमाण पाइन्छ ।
खस संस्कृति र मष्ट परम्परा
कुनै समयमा नेपालको हिमाली क्षेत्रलाई जडान र पहाडी क्षेत्रलाई खसान भनिन्थ्यो । यही खसान क्षेत्रमा मष्ट परम्पराको विकास भएको हो । मष्ट परम्परामा बाह्रभाइ मष्ट र नौ बहिनी भवानी छन् भन्ने मान्यता छ । केही प्रख्यात् मष्टरूमा ढँडार मष्ट,खप्पर मष्ट,बाबिरो मष्ट,दाह्रे मष्ट,दुधे मष्ट आदि । केही मष्टहरू बोकाको बली खान्छन् भने केही मष्ट खिर बाबर खान्छन् । यो प्रचलन रहिआएको पनि छ । मष्टको बाबुआमा हुदैनन् भन्ने भनाइ छ । बुझाईमा प्रकान्तर हुन सक्ला मष्ट कुलदेवता हो, धर्म होइन । प्रयागराज शर्माले मष्टलाई अवैदिक-अपौराणिक भनेका छन् । खसान क्षेत्रका तत्कालीन बाहुनहरूको कुलदेवता मष्ट हो तर मुशलमानहरूको आक्रमणबाट बच्न उत्तर लागेका बाहुनहरूको कुलदेवता मष्ट होइन भन्ने भनाइ डा.जगमान गुरुङले राखेका छन् । मष्ट देवताको मन्दिर,चित्र,मूर्ति केही पनि हुँदैन । भूईंबाट एकहात अग्लो उठाईएको चौको हुन्छ । दियो, चमर र घण्ट मष्ट पूजामा प्रयोग हुने साधन हुन । मष्ट पूजामा झाँक्रीको विशेष भूमिका हुन्छ । पश्चिम नेपाल जसलाई खस साम्राज्य भनिन्थ्यो । त्यहाँ यसले व्यापकता पाएको थियो । यद्यपि अझै त्यहाँ मष्ट संस्कृति जीवन्त रहेको छ । वेदमा मष्टबारेमा केही उल्लेख नभएकोले यसलाई अवैदिक वा अपौराणिक भनिएको हो ।
नेपालमा तन्त्र संस्कृतिको विकास
नेपालमा तन्त्र संस्कृतिको विकास धेरै पहिलेदेखि नै भएको पाइन्छ ।हिन्दु तथा बौद्ध सम्प्रदायमा तन्त्रको ठुलो स्थान रहेको छ । बौद्धमार्गीहरूमा विशेषगरी वज्रयान सम्प्रदायमा तन्त्रको प्रयोग सम्बन्धी विभिन्न चर्चा पाइन्छ । मल्लकालमा विभिन्न अवतारी लामाहरूले राजाका सामु चमत्कार देखाएको घटना इतिहासमा अध्ययन गर्न पाइन्छ ।
अर्कोतर्फ हिन्दुहरूमा विशेष गरी नाथ सम्प्रदायको विशेष चर्चा पाइन्छ । यसमा गुरु गोरखनाथलाई ठुलो महिमा दिइएको छ । गुरु गोरखनाथ सत्ययुगमा नै उत्पति भइ विभिन्न समयमा विभिन्न अवतारले प्रकट हुने गरेको चर्चा पाइन्छ । लमजुङ राज्यका राजकुमार द्रव्य शाहलाई गुरु गोरखनाथले आशीर्वाद दिएकोले लिगलिगकोट हुदै गोरखाको राजा भएको कुरा गोरखनाथका अनुयायीहरू बताउने गर्दछ्न् । नेपाल एकीकरणपूर्व पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथको दिव्य वचन परेको कुरा चर्चामा आइरहन्छन् ।
पृथ्वीनारायण शाह पनि योगीहरूको ठुलो कदर गर्द्थे । उनी सल्यानका योगी भगवन्तनाथ र गुल्मीका शशिधरलाई आसन ग्रहण गराएपछि मात्र आफू आसनमा बस्दथे । कीर्तिपुर विजय गर्न कठिन भएपछि पृथ्वीनारायण शाहले सल्यानमा रहेका योगी भगवन्तनाथलाई झिकाएर तन्त्रविद्या प्रयोग गर्न लगाई कीर्तिपुर वशमा पारेका थिए । यसपछि योगी भगवन्तनाथको आश्रममा आशागुर्जा चढाएको कुरा नाथ योगीका अनुयायीहरूले बताउँदै आएका छन् । जुम्लाका चन्दननाथ,सल्यानका भगवन्तनाथ र गुल्मीका स्वामी शशिधर लगायतको खस राज्यहरूमा धेरै भूमिका रहेको कुरा नाथ सम्प्रदायका योगीहरूले बताउने गरेका छन् । नेपालको इतिहासमा स्वामी शशिधर,चन्दननाथ र योगी भगवन्तनाथको बारेमा कमै लेखेको पाइन्छ । यसरी नेपालमा विभिन्न समयमा सभ्यता र संस्कृतिको विकास हुँदै आएको देखिन्छ ।
विभिन्न कालखण्डमा हावापानी,तिथि तथा भौगोलिक क्षेत्रको आवश्यकता अनुसार सिर्जित भएका सभ्यताहरूले नेपाललाई सम्पन्न बनाएको छ । प्राचीनकालदेखि आफ्नै बलबुतामा सिर्जना भएको नेपाली सभ्यता र संस्कृतिमा हालको समयमा केही विचलन आइरहेको आभाष पाइन्छ । सभ्यता र संस्कृतिमा ह्रास आयो भने हाम्रो मौलिक पहिचान गुम्दै जाने खतरा झन बढेको देखिन्छ । हाम्रो मौलिक सभ्यताहरू माथी विभिन्न कोणबाट आक्रमण भइ रहेको अवस्थामा यसलाई छिटोभन्दा छिटो व्यवस्थापन गर्नु आजको ट्ड्कारो आवश्यकता हो । सभ्यता र संस्कृतिको जग हाम्रा ग्रामीण समाजमा पाउन सकिन्छ जसलाई मौखिक ज्ञान प्रणाली (Oral knowledge system) भनिन्छ । यसबाट सभ्यता र संस्कृतिको जरोसम्म पुग्न सकिन्छ । यस्ता विषय र प्रसङ्गहरूलाई अभिलेखिकरण गरेर विज्ञान सम्मत तरिकाले खोज अनुसन्धान गर्न सके हाम्रो मौलिक परम्परा,सभ्यता र संस्कृतिको संरक्षण हुन सक्छ ।



प्रतिक्रिया दिनुहोस