प्रहरीलाई शिष्ट र मर्यादित बनाउने विधेयक संसदबाट पारित, विशेष अदालत अब प्रदेशस्तरमा
१७ वैशाख, काठमाडौं — अब प्रहरी अधिकारीहरूले सेवाग्राही र आम नागरिकसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने कानुनी प्रावधान आउनेछ। यस सम्बन्धमा आवश्यक संशोधनसहितको विधेयक प्रतिनिधि सभाबाट पारित भइसकेको छ।
सरकारले ल्याएको केही नेपाल ऐन संशोधन विधेयक मार्फत प्रहरी ऐन २०१२ को दफा १५ र दफा ३६ संशोधन गरिएको हो।
दफा १५ मा अब स्पष्ट रूपमा प्रहरीलाई सभ्य, मर्यादित र सम्मानजनक व्यवहार गर्नुपर्ने जिम्मेवारी तोकिएको छ।
त्यस्तै, दफा ३६ मा रहेको “क्षेत्रीय प्रहरी विशेष अदालत” भन्ने शब्दावलीलाई “प्रदेश प्रहरी विशेष अदालत” मा परिमार्जन गरिएको छ। यसले अदालतको संरचना संघीय ढाँचामा लैजाने व्यवस्था सुनिश्चित गरेको छ।
संशोधित प्रावधान अनुसार, अब प्रहरी नायव निरीक्षकदेखि नायव उपरीक्षकसम्मका लागि आवश्यक परेमा प्रदेशस्तरमा विशेष अदालत गठन गर्न सकिनेछ।
यो विधेयक अघिल्लो सरकारले तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ को पहलमा ल्याएको थियो।
-
२६ वैशाख २०८० मा विधेयक प्रतिनिधि सभामा दर्ता
-
२९ भदौमा विषयगत समितिमा
-
१४ वैशाख २०८१ मा सभामा पुनः पेश
-
१७ वैशाखमा प्रतिनिधि सभाबाट पारित
अब यो विधेयक राष्ट्रिय सभामा जान्छ र पारित भएपछि पुनः प्रतिनिधि सभा हुँदै राष्ट्रपतिकाे प्रमाणीकरणपछि कार्यान्वयनमा आउनेछ।



प्रतिक्रिया दिनुहोस