जुत्ता-चप्पल उद्योगलाई गुणस्तरमा गडबडी गरेबापत ४ लाख १० हजार जरिवाना
काठमाडौं, ३१ वैशाख — उपभोक्ताको हकहित संरक्षण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सक्रिय देखिएको छ। बुधबार विभागले काठमाडौंका १६ वटा उद्योग तथा व्यवसायमा अनुगमन गर्दै दुई वटा जुत्ता-चप्पल उद्योगलाई ४ लाख १० हजार रुपैयाँ जरिवाना गरेको छ।
काठमाडौं महानगरपालिका–२२ मा रहेका सुज स्टोर र रेज बिजनेस प्रालिलाई उत्पादनमा गुणस्तर, नापतौल, मूल्य र विवरणमा हेरफेर गरेको पाइएपछि २ लाख ५ हजार रुपैयाँका दरले जरिवाना तिराइएको हो। विभागले ती उद्योगहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) तथा दफा ३९ (१)(ख) अनुसार उल्लंघन गरेको ठहर गरेको छ।
यसैबीच, विभागले काठमाडौं महानगरपालिका–७ मा रहेको सिफल स्कुलमा पनि अनुगमन गरेको छ। स्कुलसँग सम्बन्धित आवश्यक कागजात तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको विभागले जनाएको छ।
उपभोक्ताको हक रक्षा गर्न नियमित अनुगमन जारी राख्ने विभागको भनाइ छ।



प्रतिक्रिया दिनुहोस