शंखरापुर वडा नम्बर ६ द्धारा ५ जना स्थानीयलाई जुत्ता सिलाउने मेसिन वितरण (फोटो फिचर)
जेठ ३१, काठमाडौं ।
शंखरापुर वडा नम्बर ६ ले दलित लक्षित कार्यक्रम अन्तर्गत जुत्ता सिलाई पेसामा आबद्ध ५ जना सोही वडावासीलाई सिलाई मेसिन प्रदान गरेको छ ।
बिहीबार कार्यक्रमका प्रमुख अतिथि नगर प्रवक्ता एवं वडा नम्बर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ सहित कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा ५ जनालाई सिलाई मेसिन प्रदान गरेका हुन । सो अवसरमा बोल्दै नगर प्रवक्ता श्रेष्ठले उनीहरूलाई आत्मनिर्भर र व्यवासायीकता उन्मुख गराउने उद्देश्य सो सिलाई मेसिन दिइएको जानकारी दिनुभयो ।
रोजगारी नपाएर युवाहरू विदेश गइरहेको अवस्थामा त्यसलाई केही मात्रा भए पनि न्यूनीकरण गर्न, आफ्नै घरमा बसेर पनि काम गरी स्वरोजगार हुनका लागि सीप भएका युवाहरूलाई यस प्रकारको कार्यक्रम लाभदायक हुने बताउनुभयो ।
उनीहरूको आवश्यकता र माग बमोजिम व्यवसाय स्तरोन्नति गर्न सहायक हुने बताउँदै वडा नम्बर ६ बाट प्रत्येक वर्ष बाल देखि बृद्दसम्म दलित, महिला, युवा लक्षित कार्यक्रम निरन्तर आयोजना गरी वडा बजेट सीमा अनुसार कहिले कम कहिले अलि बढी विनियोजन गरी निरन्तर सहयोग गरिरहेको र यस्तो कार्यक्रमबाट सबै वर्गको उत्थान भइरहेको आफूलाई महसुस भइरहेको बताउनुभयो ।
जुत्ता सिलाई पेसामा संलग्न स्थानीयवासी सुमन बोगटी, मिठ्ठाराम रम्तेल, शरण विश्वकर्मा, भाइराजा वोगटी र चन्चला रम्तेललाई जुत्ता सिलाउने मेसिन वितरण गरिएको छ । वडा कार्यालयबाट अनुदान पाएकोमा उनीहरूले खुसी व्यक्त गर्दै आफ्नो पेसालाई थप बिस्तार गर्दै लैजाने जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस